flag

   दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट

संस्था नायकको विवरण

Home
/
संस्था नायकको विवरण

श्रीकान्त अधिकारी नेपालको शैक्षिक, सामाजिक र राजनीतिक आन्दोलन का नायक

दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठान

श्रीकान्त अधिकारी नेपालको शैक्षिक, सामाजिक र राजनीतिक आन्दोलनको क्षेत्रमा परिचित नाम हो । लमजुङमा शाह वंशको आगमनसँगै अधिकारीहरू पनि कास्कीको अस्तामबाट दुराडाँडा आएका हुन्। ही अधिकारी वंशमा पिता हरिदास अधिकारी र माता इन्दु मायाका पुत्ररत्नको रुपमा वि.सं. १९८४ साल जेठ १३ गते लमजुङको दुराडाँडास्थित स्वाँरा गाउँमा श्रीकान्तको जन्म भएको हो । श्रीकान्त अधिकारीका दुई आमाहरू थिए । दुई आमाका गरेर ८ दिदी बहिनी र ७ दाजुभाइ थिए । २ बहिनी र २ भाइको सानैमा निधन भएपछि ६ दिदी बहिनी र ५ भाइ अस्तित्वमा रहे । टिकामाया घिमिरेशुरथमाँया सिग्देल, प्रभा सुवेदीविष्णुमाया न्यौपानेगोमा आचार्यलक्ष्मी बराल दिदी बहिनी थिए भने पद्मकान्त र लक्ष्मीकान्त दाइहरू बितेपछि श्रीकान्त अधिकारी जेठा भए भीष्मकान्त अधिकारीचन्द्रकान्त अधिकारीविष्णुकान्त अधिकारी र अरुण कान्त अधिकारी भाइहरु भए

भागिरथी घिमिरेसँग श्रीकान्त अधिकारीको पहिलो विवाह भयो । भागिरथीबाट तीन छोरीको जन्म भयो । भागिरथीबाट बिमला सिग्देलसबला आत्रेय र प्रभा अर्याल गरि तीन छोरी जन्मिए । श्रीकान्त अधिकारीले २०१७ सालमा गायत्री अर्यालसँग दोस्रो विवाह गर्नुभयो । श्रीकान्त अधिकारीको राजनैतिक उतार चढावमा गायत्री अधिकारीले होस्तेमा हैंसे गरि श्रीकान्त अधिकारीलाई मुकाममा पुर्याउन निरन्तर सघाई रहिनु भयो ।

हजुरबा देवीदास अधिकारीका तीनवटा पत्नीमध्ये माहिली रमा पट्टीका छोराहरू हरिदास अधिकारी, शेषकान्त अधिकारी र दीननाथ अधिकारीको परिवार आमा रमाको अभिभावकत्वमा संयुक्त परिवारमा बस्दथे । शेषकान्तका छोरा नरकान्त  र कृष्णकान्त तथा हरिदासका छोरा भीष्मकान्त र श्रीकान्त अधिकारी यही संयुक्त परिवारमा हुर्के बढेका हुन। देवीदासका नाति पुस्तमा नरकान्त सबैभन्दा जेठा हुनुहुन्थ्यो । त्यसैले उहाँको पिंढीका सबै भाइले उहाँलाई 'ठूल्दाजु' भन्नु हुन्थ्यो । नरकान्तले नै आफूभन्दा साना भाइ भतिजालाई पढाइ लेखाइमा प्रेरित गर्नुको साथै अभिभावकत्व र संरक्षकत्व प्रदान गर्नुभएको थियो। दाजु रामदत्तबाट अक्षर चिनेका श्रीकान्तले प्रारम्भिक शिक्षा धुवाउँने ठाँटीको पाठशालाबाट लिनु भएको थियो । त्यसपछि भवदत्त साहुले बरबोटको घरमा खोलेको पाठशालामा तत्कालीन स्याङ्जाको बर्साम्मी (हाल कास्कीको निर्मलपोखरी) का गुरु टीकाराम पौडेलसँग अमरकोश, हितोपदेश, लघुकौमुदी, चण्डी आदि पढ्नु भयो। श्रीकान्त विसं १९९८ सालमा ठूल्दाजु नरकान्तको संरक्षकत्वमा काठमाडौं आएर, रानीपोखरी संस्कृत पाठशालामा पढ्नु भयो । मध्यमाको तयारी यहीं गरेर परीक्षाका लागि २००४ सालमा वनारस जानु भयो।

बनारसमा श्रीकान्तको सम्पर्क नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराई र उनी मार्फत विश्वेश्वरप्रसाद कोइरालासँग भयो । कोइराला र भट्टराईसँगको सान्निध्यका कारण उहाँमा सामाजिक एवम् राजनीतिक चेतनाको तह थप गहिरिंदै गयो । श्रीकान्त नेपाली छात्र संघको सदस्य  बन्नु भयो । नेपाली काँग्रेसको अधिवेशन सभामा सहभागी हुनुयो । महात्मा गान्धीको अस्थी कलश विसर्जनमा सहभागी हुन इलाहाबाद पुग्नु भयो । यसरी बनारस पुगेको एक वर्षमै उहाँ काँग्रेसका कर्मठ कार्यकर्ता हुनु भयो । सम्पूर्ण मध्यमाको पढा पूरा गरेर वि.सं. २००५ सालमा उहाँ नेपाल फर्किनु भयो

श्रीकान्तका पिता हरिदास सामाजिक व्यक्तित्व हुनु हुन्थ्यो। मुखिया साहिँलाका नामले प्रख्यात हरिदास २००६ साल साउनमा दुराडाँडामा सम्पन्न हलो क्रान्तिका प्रमुख योजनाकार मध्येका एक हुनु हुन्थ्यो। २००३ सालदेखि नै यसको तयारी सुरु भएको थियो। यस्तैमा २००५ साल फगुनमा हरिदासको असामयिक निधन भयो। उहाँको निधनले हलो जोत्न तय गरिएको समय ५ महिना पछाडि धकेलियो । अन्ततः पंतोयनाथ अधिकारीको अगुवाइमा  ले. शेषकान्त अधिकारी र मु. हरिभक्त पौडेलश्रीकान्त अधिकारीसमेत २७ जना ब्राम्हणले २००६ साल साउन ११ गते अर्चल्यानीको बाटेगरामा हलो जोतेर 'हलो क्रान्तीको श्रीगणेश गर्नु भयो । पिता हरिदासले अधुरो छोडेको 'हलो क्रान्तिको अभिभारा पूरा गर्ने अभियानमा श्रीकान्त अधिकारी काँधमा काँध मिलाएर उभिनु भयो। 

बनारसबाट फर्किंदा श्रीकान्तले हृदयमा एक आदर्श प्रजातन्त्रवादी नेता, व्यवहारवादी समाज सुधारक र मूल्य मान्यताले ओतप्रोत शिक्षा पद्धतिको अभियन्ता बन्ने अठोट बोकेर फर्कनु भएको थियो । नेपाल फर्किपछि उहाँले आधार शिक्षाको तालिम लिएर पोखराको बाटुलेचौरस्थित आधार स्कूलमा पढाउन थाल्नु भयो । त्यहीं स्कूलमा पोखराका जल्दा बल्दा युवक पं. मुक्तिनाथ तिमिल्सिना पनि पढाउँनु हुन्थ्यो । पं. मुक्तिनाथ र श्रीकान्तले विद्यार्थीहरूमा किताबी ज्ञानका साथसाथै राजनीतिक चेतना पनि भर्न थाल्नु भयो । आफ्ना क्रान्तिकारी मित्र मण्डली थप्दै नेपाली काँग्रेसको सङ्गठन विस्तार थाल्नु भयो 

२००६ सालको हलो क्रान्तिको राप तनहुँ, कास्की, गोरखा, धादिङ, स्याङजा, अर्घाखाँची देखि रामेछापसम्म पर्यो । यो जहाँ जहाँ पुग्यो त्यहाँ त्यहाँ ठूलो सामाजिक हलचल नै पैदा गर्यो । हलो जोत्नेमध्ये पं. तोयनाथ अधिकरी, ले. शेषकान्त अधिकारी र श्रीकान्त अधिकारीलाई हलो जोतेको ठीक एकवर्षपछि अर्थात २००७ साल साउनमा पक्राउ गरी पोखरामा पुर्याई जेल हालियो । तर बिना पर्जी किन जेल हालियो ?  भनेर तीनै जना अनशन बसेपछि उहाँहरू तत्कालै जेलमुक्त हुनु भयो

श्रीकान्त वि.सं. २००७ सालको क्रान्तिमा पोखरा र कुन्छाबाट सरिक हुनुभयो । प्रजातन्त्रको उदय लगत्तै उहाँ आफ्नो गृह जिल्लामा रहेर शैक्षिक र सामाजिक क्रान्तिमा होमिनु भयो । जिल्लाको विकास योजनाबारे छलफल चलाउनु भयो । लमजुङको गाउँशहरमा लमजुङका २१ वटै मौजाको भेला बोलाइयो । यी मौजाको विकासका लागि अलग अलग टोली बने । भेलाका प्रतिनिधिहरू सबैभन्दा पहिला शिक्षाको विकास हुनुपर्ने निचोडमा पुगे । यसै क्रममा वि.सं. २००८ साल साउनमा दुराडाँडा मौजामा एकैपटक १४ वटा प्राइमरी स्कूल स्थापना गरियो । गाउँका युवकहरुले स्वयंसेवी शिक्षकको रूपमा नि:शुल्क पढाए। पछि उल्लिखित १४ मध्ये १२ वटा विद्यालयले मात्र सरकारी स्वीकृति पाए ।

वि.सं. २००९ साल कार्तिकमा दुराडाँडामा सर्वोदय मिडिल स्कूलको स्थापना गरियो। २०१२ सालमा सर्वोदय मिडिल स्कुल हाइस्कुलमा स्तरोन्नति भयो। यो विद्यालय जिल्लामै पहिलो पब्लिक हाइस्कुल हो। २००९ सालमै दुराडाँडामा पश्चिमाञ्चलस्तरीय राजनीतिक सम्मेलन र २०१० सालमा शिक्षा सम्मेलनको आयोजना गरियो। यी सम्मेलनले सरकारलाई विभिन्न सुझाव सिफारिस गर्यो। ती सुझाव आजपर्यन्त उत्तिकै सान्दर्भिक छन्। 

श्रीकान्तले २००८ देखि २०१४ सालसम्म आफ्नो जन्म थलोमा बसेर यसको चौतर्फी उन्नयनमा लागि पर्नु भयो। २०१५ सालको संसदीय निर्वाचनमा लमजुङ निर्वाचन क्षेत्र (निर्वाचन क्षेत्र नं. १०१) बाट संसद सदस्यमा निर्वाचित हुनस भयो । २०१७ सालमा राजा महेन्द्रले संसद विघटन गरेपछि राजनीतिक परिस्थितिले नयाँ मोड लियो। नेताहरू गिरफ्तार भए । कोही निर्वासनमा गए । कोही व्यवस्थाभित्रै रहेर संघर्ष गर्ने मार्गमा उभिए। श्रीकान्तले दोस्रो बाटो रोज्नु भयो । यसै सन्दर्भमा दौडाहा टोलीको नेतृत्व गरी सुदुर पश्चिमाञ्चल क्षेत्रमा खटिनु भयो । उहाँको सोच र रगतमा शिक्षा र समाज सुधारको बीज छर्दै थियो । उहाँले यसैलाई छर्दै हिंड्नु भयो । कतिपय सुदुरपश्चिमेलीले अहिले पनि उहाँलाई स्मरण गर्छन् ।

श्रीकान्त अधिकारी लमजुङको राजनीतिमा सक्रिय भए । वि.सं.२०२५ सालमा जिल्ला पञ्चायत सभापतिमा र २०३० सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित हुनु यो । लमजुङ जिल्ला पञ्चायतको सभापति छँदा बाख्रेजगात नजिकको शीतलेस्वाँरामा हवाई मैदान निर्माणलाई अगाडि बढानु भयो । यद्यपि यसले पूर्णता पाउन बाँकी नै छ। यसै गरी सर्वोदय माविको रजतजयन्तीको अवसरमा हाँले दुराडाँडा क्षेत्रमा जन्मिएका युगपुरुष खजे दुरा, ठाडोभाकाका सर्जक देउ बहादुर दुराको योगदानलाई उजागर गरी दुरा जातिको गौरवमय पहिचानलाई अगाडि ल्याउनु भयो । वि.सं. १६१६ मा शाह वंशलाई लमजुङको राजतिलक लगाइएको ऐतिहासिक स्थल सिन्दूरे ढुङ्गाको महिमा स्थापित गराउनु भयो

श्रीकान्तले संस्कृत शिक्षा र सनातन संस्कृतिको जगेर्नाको लागि दुराडाँडाकै कीर्तिपुरमा वि.सं.२०२६ साल मंसिरमा स्थापित पाणिनि संस्कृत मा.वि. र गुरुकूल आश्रम स्थापना अभियानको सफल नेतृत्व गर्नु भयो यसमा स्मरण योग्य के छ भने महिला शक्ति वा मातृ शक्तिलार्इ अधार मानी १०८ दान गर्ने १०८ आमाको सहभागिता पछि स्कुलको शिलान्यास गरिएको थियो पछि यस्ता अमाको समुह ५०० नाघेको छ  । यी आमाहरूले स्कुल धान्न हरेक दिन १ मुठी पकाउन ठिक पारेको चामलबाट १ मुठी चामल बाँसको ढुङ्ग्रोमा महिना दिन संकलन गरी महिनामा स्कुल धान्न सिदा दान गर्ने चलन शुवातको थालनी श्रीकान्तबाट चालिएको थियो । संस्कृतिको जगेर्नाका लागि नित्य पूराण वाचनको लागि वेदव्यास मञ्च, कामधेनु गौशाला नन्दन उद्यान, कोमल पुस्तकालय, गार्गी ज्ञान मञ्च,  न्वन्तरि उपचार केन्द्र, यज्ञवल्क होम कुण्ड, शेष अथिती गृह, हरिदास वाचनालय आदि संस्था सञ्चालनको व्यवस्था मिलाउनु भयो  यी सबैको व्यवस्थापनको लागि सप्तऋषि मण्डल, चन्दा उठाउन चतुर्बाहु समुह आदिको गठन गर्नु भयो । सर्वोदय क्याम्पसको स्थापना उपज स्मृति भवन लगायत पूर्वाधारको निर्माणमा महत्वपूर्ण योगदान गरनु भयो

श्रीकान्त अधिकारी जहाँ पुग्नुहुन्थ्यो वा रहनुहुन्थ्यो शिक्षाको उज्यालो बाल्न प्रयत्नरत रहनुहुन्थ्यो । पृथ्वीनारायण क्याम्पस पोखराको संस्थापक सदस्यसमेत रहनुभएका श्रीकान्तले पोखराको लेखनाथ क्षेत्रमा शिशुवामा लक्ष्मी आदर्श मा.वि. र दुईताल (बेगनास र रुपा) बीचमा अमरसिद्ध नमूना मा. वि. को स्थापनामा अगुवाई गर्नुभयो। यी दुई विद्यालय श्रीकान्तले त्यस क्षेत्रमा बालेका शिक्षादीप हुन् । त्यसै गरी सुदुरपश्चिम क्षेत्रमा पनि शिक्षाको दियो बाल्न उहाँले अमूल्य योगदान रेकाे प्रसस्त उदाहरण छन् । 

श्रीकान्त अधिकारीमा उच्च काव्यि चेत र साहित्यिक व्यक्तित्व पनि थियो  । मुलुकको समसामयिक राजनीति र सामाजिक उन्नयनसँग सम्बन्धित उहाँका कैयौं फुट्कर कविता र लेख प्रकाशित छन् । दुईवटा रूपक प्रकाशित  छन् । शास्त्रीय छन्दमा लेखिएका तीन दर्जन कविता अहिले पनि अप्रकाशित रूपमै रहेका छन् ।

लोकतन्त्रको सम्बर्धन र सामाजिक सेवाको क्षेत्रमा जीवनभर अनवरत क्रियाशील श्रीकान्तको २०६९ सालको भाइटीकाको दिन स्वर्गारोहण भयो । उहाँको पार्थिव शरीर नरहे पनि लोकतन्त्रप्रतिको आस्था र सामाजिक सेवाका क्षेत्रमा उहाँको अगुवामा भएका सुकर्मले समाजलाई मार्गदर्शन गरिरहने छ । श्रीकान्तका विचार र योगदानलाई अजर, अमर राख्ने सत्प्रयास  निरन्तर चलिरहेको छ र चलिरहने छ। दिव्य पुरुष श्रीकान्त अमर रहुन्

 

कार्यक्रम तथा गतिविधि

श्रीकान्त अधिकारी ९१औँ जन्मजयन्ती

2024-07-09  राससआइतबार, १३ जेठ २०७५काठमाडौँ -विसं २००६ का हलो क्रान्तिका नायक स्वर्गीय श्रीकान्त अधिकारीको सम्झना गरिएको छ । अधिकारीको ९१औँ जन्मजयन्तीका अवसरमा आज दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले कार्यक्रम गरी विसं २००६ मा लमजुङको दुराडाँडामा ब्राह्मणले हलो जोतेर सामाजिक अभियानको थालनी गर्नुभएका स्व...
थप पढ्नुहोस्

चेतनाको मुहान २०८० बाट हरेक वर्ष फरक फरक विषयका विशेषाङ्क प्रकाशन गर्ने (शैक्षिक विशेषाङ्क)

2024-06-17 चेतनाको मुहान (शैक्षिक विशेषाङ्क)श्रीकान्त अधिकारीका योगदानलाई चिरस्थायी बनाउने र भावी पिढीलाई सामाजिक तथा शैक्षिक सेवाका क्षेत्रमा रचनात्मक ढंगले क्रियाशिल हुन अभिप्रेरित गर्ने उद्देश्यले स्थापित दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा २०८० मा प्रकाशित कृति यस चेतनाको मुहान (शैक्षिक विशेषाङ्क) शिक्षा क्षेत्रका लागि...
थप पढ्नुहोस्