दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट
(हलो क्रान्तिको हीरक जयन्ती २०८१) — रविकान्त अधिकारी
क्रान्तिहरू भनेका वर्ग संघर्षजस्तै साम्राज्यवाद विरुद्ध प्रतिरोधका परिणाम हुन् भन्ने भाष्य बनाइएको छ । ससाना आन्दोलनहरूलाई पनि राज्य शासनको चुनौतीका रूपमा हेरिन्थ्यो र अत्यन्त निर्दयी तरिकाले दबाइन्थ्यो । साना साना आन्दोलनहरूलाई पनि पुँजीवादी शासनको चुनौतीका रुपमा हेरिन्थ्यो र अत्यन्त निर्दयी तरिकाले दवाइन्थ्यो । यी सबैले के ऐतिहासिक सत्य पुनः पुष्टि गर्छन् भने समाजवादी क्रान्ति नहुन सक्छन् तर यो उठ्नु चाहिँ पर्छ । यो ऐतिहासिक द्वन्द्वात्मकताको बृहत् सन्दर्भमा मात्र हामीले प्रतिक्रान्तिहरूका संघर्ष र कमजोरीहरूलाई हेर्नुपर्ने हुन्छ ।
आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाह हुन् । चार जात छत्तीस वर्णको फूलबारी हो भन्ने मूल मन्त्रलाई विचार गरी विविधता बिच एकता कायम गरी सबै वर्ग र तप्काको साथ सहयोगमा नेपालमा विभिन्न राज्य रजौटा बीच एकीकरण शुरु भयो यो सबैले जानेको पढेको कुरा हो । उनले योग्य व्यक्तिको कदर गर्ने परम्परा बसाली साधारण रैती दुनियाँका छोराहरूलाई कुशल सेना नायक बनाएर एकीकृत राज्य निर्माणमा विशिष्ट योगदान जुटाउने काम गरेकाले सफलता प्राप्त गरेका थिए । उनको निधन पछि उनको उत्तराधिकारीहरूबाट एकीकरण अभियानलाई निरन्तरता दिइयो तापनि जनताको साथ सहयोगको उपेक्षा गर्ने भएपछि सुरु भएको गुटबन्दीको परिणाम राणाशासन स्थापना भएको हो भन्ने विश्लेषण रहेको छ । राजा र जनताबिच ठुलो पर्खाल तयार गरी राणाहरूले राजालाई खोपाको देवताझै बनाएर नेपाल र नेपालीको भाग्य विधाताकै शैलीमा शासन गर्न थाले ।
देशभित्र विरोधका आबाजसम्म नै निषेध गरेकाले भारतीय भूभागलाई आधार भूमि बनाएर स्थापना भएको नेपाली कांग्रेस हतियारका बलमा गतिशील राणाशासन फाल्न सशस्त्र क्रान्ति बिना नसकिने निष्कर्षमा पुगेको हो । प्रजातान्त्रिक विधि र पद्धतिको स्थापनाका लागि सशस्त्र क्रान्ति गर्ने निर्णय गरेको नेपाली कांग्रेसले निर्णायक प्रहारका लागि नै भारत केन्द्रित भएर तयारी पूरा गरेको थियो । वी.पी. एवं सुवर्ण शमशेरको पहलमा निर्णय गरेर थालेको अन्तिम तयारी क्रममा राजाको वैधानिक नायकत्वमा प्रजातान्त्रिक व्यवस्था स्थापनाको घोषणा गर्नु नै क्रान्ति सफलताको मूल आधार थियो ।
सामाजिक क्रान्तिका इतिहासमा केही यस्ता घटना देखिन्छन् जसले व्यक्ति, देश, समाज र यहाँसम्म कि मानव सभ्यता र सामाजिक परिपाटीलाई नयाँ परिवेश र परिवर्तनका मोड मात्र दिँदैनन् बल्कि देश तथा समाजलाई नयाँ वातावरण र उचाइमा प्रवेश गराउँछन् । २००६ सालमा भएको नेपालको पहिलो ब्राम्हणले हलो जोत्ने ऐतिहासिक क्रान्ति यस्तै चरित्रको परिघटना थियो जसले नेपाली समाजलाई राणाकालीन निरङ्कुश युगको अन्धकारबाट नयाँ युगमा प्रवेश गराउन कोसे ढुङ्गा बनेको थियो ।
ब्राम्हणले हलो जोत्ने कार्यलाई एउटा कोटरीमा काखी च्यापेर यसको अपमान गर्न खोजिएको छ । यसका दूरगामी प्रभाव र कुन परिवेशमा कसरी संघर्ष भयो भन्ने पाटोमा हलो क्रान्तिलाई हेरिएको छैन बुझिएको छैन । यसका भावना र महत्वलाई बाटे गरामा सीमित गरी तल्लो गाउँ र माथिल्लो गाउँ, यो व्यक्ति र त्यो व्यक्ति भनि सानो डालीमा यसको प्रभाव खन्याउन खोजिएको छ । २७ जनाले हलो जोते भन्ने भाष्यलाई टुक्रा पारी ११ र १६ को भाग बन्डा गरिन खोजियो । मेरो बाउ र तेरो बाउ भनि हिजो खाँको घिउ आज हात सुङ भन्ने भन्दा यसको प्रभाव र तत्कालीन परिवेशलाई मूल्याङ्कन गर्ने तागत हामीले गुमायौ भने यसले राष्ट्रिय महत्व कसरी लिन सक्छ कसरी हामीले यस आन्दोलनलाई र्मूत रुप दिन सक्छौं, विचारणीय छ, हुनु पर्दछ ।
पश्चिम ३ नं. अन्तर्गत पर्ने २१ मौजाहरू मध्ये एउटा मौजा हो– दुराडाँडा । यो पश्चिमबाट लम्बिएर दक्षिण—पूर्व फर्केको मनोरम डाँडो हो । साबिक दुराडाँडा भित्र ६ गा.वि.स नेटा, धुसेनी, सिन्दुरे, पुरानकोट, चन्द्रेश्वर, दुराडाँडा रहेको छन् । यस डाँडाको अग्लो भूभाग कोटहरू तुर्लुङ्कोट र पुरानकोट नामले परिचित छन् । तुर्लुङ्कोटमा कालिका भगवतीको मन्दिर छ भने पुरानकोटमा जल देवीको । कालिका मन्दिर पछाडि पश्चिम पाटोमा यशोब्रह्म शाहको सिन्दूरजात्रा भएको ठाउँ सिन्दुरे ढुङ्गा छ । यसैको छेउमा नेपाल डाँडो वा रमाइलो डाँडो छ जो हालको लागि एक रिर्सोट वा भिल्ला लागि अति उपयुक्त स्थान रहेको छ । कालिका मन्दिर अगाडि कुवापानी भन्ने ठूलो चौर रहेको छ । यसको छेउमा पानीको मूलहरू रहेको छ । उत्तर फर्केको यस चौरको आडमा रहेको जमिन जडीबुटीको बगैचा बनाउन अति उपयोगी कालिका परिसरमा रहेको बुट्यानमा बार बन्देज गरी हरिण, मृग, तित्रा, कालिज जस्ता वन्य जीवको पालन गरी कुवापानीको ठाँटी छेउमा रिर्सोट बनाएर प्रकृतिको मोहनी रुप लुटन प्राकृतिक स्रोत केन्द्रको विकास गर्न सकिन्छ । पुरानकोटको कोटलाई रक क्लाईमिङ पछिको विश्राम—स्थल विकास गरी यो वनमा भैसी तथा स्थानीय गाईको लागि स्रोत केन्द्र बनाउन सकिन्छ भने तल्लो भागमा भेडा फर्म बनाउन सकिन्छ । यस्तो बायो डाइर्भसिटीको अवलोकन स्थल एकातिर चिहाई रहेको छ भने दुराडाँडा हलोको सिरानीमा सुस्ताई रहेको छ ।
बीसौं शताब्दीको शुरुदेखि नै यो मौजामा शैक्षिक विकासको थालनी भएको थियो । वि.सं. १९३० देखि नै सिमित व्यक्तिहरू साधारण लेख पढ गर्ने गरेका थिए भनिएतापनि को थिए भन्ने उल्लेख गरेको पाईदैन । बीसौं शताब्दीको पूर्वार्धदेखि नै यो मौजामा शैक्षिक विकासको चस्को रहेको बुझिन्छ । १९५० तिर जन्मेका कोमल नाथ, हरि दास अधिकारीहरु बनारस पढ्न गएका र पछि वि.सं. १९७० देखि केही समय पं. कोमल नाथ अधिकारीले शिक्षा दिन थाल्नु भयो भन्ने लेखोटहरू पाइन्छ । १९७८ मा कोमलनाथले नै औपचारिक भाषा पाठशाला चलाउनुभएको तथ्यहररू पाइन्छ र उहाँकै विद्यार्थी तोयनाथ अधिकारी, चिरञ्जीवी अधिकारी, तीर्थराज अधिकारी, काशिनाथ अधिकारी, भद्रकाली अधिकारी, उमानाथ कोइराला लगाए का विद्यार्थी नै दुराडाँडाका शिक्षाका जग थिए भन्ने इतिहासले पुष्टि गर्दछ । त्यसपछि भवदत्त वडार खनियाले खोजि गर्नु भएका शिक्षक वि.सं. १९९२–२००२ सम्म पं. टीकाराम पौडेलले यस क्षेत्रमा शिक्षादान गर्नुभयो, जसका पाण्डित्यको शैक्षिक प्रभाव छिमेकी जिल्लाहरूमासमेत व्यापकरूपमा पर्नपुग्यो । चिरञ्जीवी अधिकारीले घनपोखरा र कुन्छामा पुगेर शिक्षादान गर्नु भयो भने तिर्थराज, रामदत्त अधिकारीले दुराडाँडामै रहेर शिक्षाको दियोमा तेल थप्ने काम गर्नुभयो । यिनै शैक्षिक भुल्काका प्रेरणा र पथ–प्रदर्शनका शाखा प्रशाखाले व्यापकरूप लियो । फलतः चेतना र शिक्षा नयाँ युगबोधको जागरण झाँगिन थाल्यो । यही त्रिकोणात्मक लहरले नै प्रजातन्त्रको पूर्वसन्ध्यामा युगसापेक्ष परिवर्तनका आह्वानमा हलाकर्षणकार्यको थालनी हुनपुग्यो ।
यही हलो जोत्ने सचेत समूह यहाँ आफ्नो सामाजिक विकास, कृषि पद्धति, छुवाछुत आदि विषयलाई लिएर राणा—विरोधी तथा अन्याय र अत्याचारका बिच आधुनिक विकास र एक तन्त्रीय शासनका विरुद्ध आवाज उठाईरहेको थियो । अनि कट्टरपन्थी बाहुन वर्ग तथा सत्ताका तावेदारहरुको समूह यिनको विरोधमा खडा देखिन्थ्यो । त्यतिखेर विरोधी वर्गको समूह ठूलो थियो । यसले हलो जोत्ने समूहको खिल्ली उडाउँदै र तिनका नाइकेहरूलाई छेड गर्दै विविध रूपका सिलोक कथन, गाली गलौजको व्यङ्ग्य पूर्ण भाषा प्रयोग गर्न सामाजिक बहिष्करण र भात भान्सा बहिष्कृत गर्न यो अभ्यस्त देखा पर्दथ्यो । कारण आफ्नो लोक पद्धति र लोक धर्मको सीमालाई नाघी जथाभावी तालले बाहुन हलो जोत्न थालेपछि लोकमर्यादा र धार्मिक परम्परालाई उल्लङ्घन गरेको, आफ्नो परम्परित रीतिरिवाजप्रति तिरस्कार देखाएको महसुस कट्टरपन्थी ब्राह्मण वर्गले गरेको थियो भने शासक वर्ग शासनको विरोधको पर्यायको रूपले हेरेको थियो । फलतः हलेबाहुनप्रति के गर्ने ? भन्ने विषयलाई आधार बनाई कट्टर पन्थीहरूको समूहले शासकहरुको आड भरोसामा हलोजोताहरुलाई जेल कोच्ने सम्मको परिपन्च तयार गरे । यसैको भुङ्ग्रोमा परे तोयनाथ अधिकारी, ले. शेषकान्त अधिकारी र श्रीकान्त अधिकारी सहयोगीहरु मु. हरिभक्त पौडेल लगायत अन्य २३ जना त्राहिमाम् भए । यो हलाकर्षण कार्यले शासन विरोधी, सामन्ती प्रथा र विभेदको अन्त्यलाई प्रतिनिधित्व गरेको थियो समाजलाई सचेत गराएको थियो ।
लमजुङको दुराडाँडा सुन्दरबजार नगरपालिका– ४ अर्चल्यानीमा पर्ने बाटेगरामा ११ साउन २००६ मा त्यहाँका अगुवा ब्राह्मणले हलो जोतेर सामाजिक क्रान्ति थालनी गरेका थिए । तर, त्यो स्थल ओझेलमै छ । ब्राह्मणलाई त्यति वेला सबैभन्दा ठूलो जाति मानिन्थ्यो । बाहुनले हलो जोत्न नहुने मान्यता विद्यमान रहेको समाजमा उनीहरूले नै हलो जोतेपछि ठूलो हलचल मच्चिएको थियो । तत्कालीन राणाहरूसमेत यो अभियानले झस्किएका थिए । अहिलेसम्म दुराडाँडामा हलोक्रान्तिको सन्दर्भमा सम्बन्धित क्षेत्रबाट लेखिएका पुस्तक तथा पत्रपत्रिकामा ब्राह्मणहरूले मात्र हलो जोतेका थिए भन्ने कुराको पुष्ट्याइँ पाइन्छ । बोलीचालीमा पनि यही कुरा मात्र पाइन्छ । तर, दुराडाँडाभित्र गहिरिएर अध्ययन गर्दा अरू थप सामग्री पनि भेटिने छन् ।
२०१५ सालको आमनिर्वाचनमा दुराडाँडाका श्रीकान्त अधिकारी सांसद बनेका थिए । ०१७ साल पौष १ गतेका दिन तत्कालीन राजा महेन्द्रले संसद् विघटन गरी नेपालमा पञ्चायती व्यवस्था लागु गरे । त्यसपछि श्रीकान्त अधिकारी दौडाहादलको अध्यक्ष बनेर महाकाली क्षेत्रमा गए । त्यहाँ पनि उनले हलोक्रान्तिको अभियानलाई निरन्तरता दिए । त्यहाँका ठूलाठालु ब्राह्मण तथा ठकुरी समुदायका व्यक्तिहरूलाई हलो जोताए ।
हलोक्रान्तिको अभियानमा लमजुङभित्रचाहिँ दुराडाँडामा भन्नुपर्ने अवस्था आउँछ भने लमजुङ भन्दा बाहिर जाँदा अथवा राष्ट्रव्यापी रूपमा भन्नुपर्दा लमजुङबाट त्यो अभियान सुरु भएको भन्दा त्यसको क्षेत्र फराकिलो हुन्छ । त्यसैगरी सालिक स्थापना गर्ने काममा पनि दुराडाँडा नै अगाडि छ । दुराहरूका पुर्खा खजे दुराको सालिक २०३३ सालमा दुराडाँडाको च्यानपाटामा स्थापना गरियो । यसका अभियान्ता श्रीकान्त अधिकारी हुन् । अग्रजहरूको सम्मान गर्नुपर्दछ भन्ने उद्देश्यले कोमलनाथ अधिकारी, टिकाराम गुरू, तोयनाथ अधिकारी, खजे दुरा र देवबहादुर दुराको इतिहास खोज्ने काम उनले गरेका हुन् । यसै अभियानसँगै दुराहरूको इतिहास पनि खोजिएको छ ।
सालिक स्थापना गर्नु भनेको त्यस व्यक्तिको उचित सम्मान गर्नु हो । अहिलेका दुराडाँडाका हस्तीहरूले अग्रजहरूको सम्मान गर्नुपर्दछ भनी सोचेका छन् वा छैनन् । यसमा राजनैतिक प्रतिशोधको भावना कसैले राखेमा त्यसलाई पाप लाग्दछ । सामाजिक योगदानको उचित कदर गर्नुपर्दछ । अहिले अग्रजहरूको सम्मान गरेमा भोलिको पुस्ताले आफ्नो सम्मान गर्नेछ यो कुरा पनि बुज्रुक वर्गले बुझिराख्नुपर्दछ । दुराडाँडामा १२ वटा विद्यालय खोल्नु, गुरुकुल आश्रम खडा गरी पाणिनि संस्कृत मावि स्थापना गर्नु, महिला तथा दलितहरूलाई शिक्षा दिने व्यवस्था मिलाउनुजस्ता कार्यले दुराडाँडाका लागि उनले गर्नु गरेका छन् ।
दुराडाँडेहरूलाई उनले ठूलो गुन लगाएका छन् । पाणिनि संस्कृत माविका उपजहरूले अहिले वैदिक सनातन धर्मको संरक्षण गर्नुका साथै हाम्रो समाजमा प्रचलित कर्मकाण्ड पद्धति र भागवतका ठेली पल्टाएर कथा वाचन गर्ने सुअवसर पाएका छन् । यसलाई पनि ठूलो उपलब्धि मान्नुपर्दछ । यजमानले सेवा पाएका छन् भने गुरु पुरोहितले वृत्ति चलाउन पाएका छन् । १२ वटा शिक्षण संस्था दुराडाँडामा स्थापना गर्दा श्रीकान्तले हामीलाई हेरेनन् भन्ने छिमेकीहरूको गुनासोलाई हत्केलाले छोपेर छोपिँदैन तर मूर्त रूपमा सहुलियत नपाए पनि अमूर्त रूपमा शिक्षाको प्रभाव जिल्लाभरि नै परेको कुरालाई भने सबैले स्वीकार्छन् ।
अग्रगमनलाई सिरानी बनाएको थियो । यस्ता क्रान्ति नायकहरूलाई हलार्कषणको हीरक जयन्तीको उपलक्ष्यमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।
