दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट
सामवेद संहिता—अनुवादकीय मन्तव्य श्रीगणेशाय नमः । श्रीसरस्वत्यै नमः हाम्रा पूर्वज ऋषिमुनिहरू त्रिकालदर्शी महापुरुष थिए । तिनले अनुभूत गरेका परमेश्वरसम्बन्धी अपरिसीम ज्ञानका भण्डार हुन् वैदिक साहित्य । अनन्ता वै वेदाः भन्ने भनाइ छ । अर्थात् वैदिक ज्ञान अनन्त छ । यो ईश्वरबाट प्रेरित ज्ञान हो । ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद र अनेक उपनिषद् तथा ब्राह्मण ग्रन्थहरू हाम्रा अमूल्य सम्पत्ति हुन् । यिनै वैदिक साहित्यको छत्रछायामा हाम्रा अनेक ज्ञान विज्ञानका क्षितिज उघारिएका हुन् । हाम्रो देश यिनै वैदिक ज्ञानबाट अनुप्राणित देश हो । हामी यिनै वेदका मन्त्रले निर्देशित भइरहन्छौँ । यज्ञमा यिनै वेदका मन्त्र गुन्जिन्छन् र वातावरण समेत पवित्र हुन्छ । ऋषिमुनिहरूले यज्ञस्थलमा गायनका लागि उपयुक्त मन्त्रहरू सङ्कलन गरी सामवेदको प्रणयन गरेको भन्ने मान्यता छ । गायनका लागि चाहिने अनेक छन्द, तिनका उदात्त, अनुदात्त, स्वरितका भेदहरूलाई मिलाउनुपर्ने निर्देश छ । श्रीमद्भगवद्गीता(अध्याय १०।२२)मा भगवान् श्रीकृष्ण भन्नुहुन्छ —वेदानां सामवेदोऽस्मि । अर्थात् म वेदहरूमा सामवेद हुँ । यसरी भगवान् श्रीकृष्णले सामवेदको मूल्यवत्ता स्थापित गरिदिनुभएको छ सामवेद अन्य वेदभन्दा अपेक्षाकृत सानो छ । यसको ज्ञान भण्डार विशाल छ । यसमा आत्मकल्याणका उपाय छन् । यहाँ हामी उदार बन्नुपर्छ भन्ने निर्देश छ । यहाँ कर्तव्यकर्म गर्दै जीवन सफल बनाउनुपर्छ भन्ने भनाइ पाइन्छ । । परोपकार गर्नु, आफ्नो भलो हुने उपाय सोच्नु, परमेश्वरप्रति निष्ठा राख्नु आदि अनेक ज्ञान यस ग्रन्थबाट पाइन्छ । सामवेद नेपाली पद्यानुवाद शास्त्रीय छन्दमा आबद्ध छ । यसमा शार्दूलविक्रीडित, उपजाति, अनुष्टुप्, पृथ्वी, भुजङ्गप्रयात आदि छन्द छन् । यहाँ भावलाई यथावत् राख्ने प्रयास गरेको छु । यो अनुवाद सायणभाष्यको अनुसार रहेको छ । मैले एउटा मन्त्रलाई कम्तीमा एक श्लोकमा ल्याएको छु । वेदको ज्ञान अनन्त छ । यसमा प्रवेश गरेर निस्कनु नै ठूलो तपस्या हो । तैपनि मैले यहाँ भावार्थ आओस् र पाठकवर्ग लाभान्वित होऊन् भन्ने सदाशय राखेको छु । यस ग्रन्थमा सामवेदका मूल मन्त्रलाई सङ्केत मात्रै गरिएको छ । नेपालीमा पद्यानुवाद भएको यस सामवेदलाई पाठकवर्गले मन पराइदिनुहुनेछ भन्ने विश्वास लिएको छु । मैले चारै वेद यसरी नै छन्दोबद्ध बनाएर अनुवाद गरेको छु । प्रकाशनमा यही सामवेद र शुक्लयजुर्वेद आएका छन् । अन्य ऋग्वेद, अथर्ववेद, वेदशास्त्रबाट अनुप्राणित वेदान्तदर्शन, कठोपनिषद् र श्वेताश्वतरोपनिषद् ग्रन्थ प्रकाशनको प्रतीक्षामा छन् । यी सबै ग्रन्थले हामीलाई परमेश्वरप्रति विश्वास जगाउँछन् । हामी आफूलाई शुभकर्ममा लगाउँदै निरन्तर अघि बढौँ भन्ने सन्देश दिन्छन् । अन्त्यमा दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले प्रकाशित गरिदिएको यस सामवेद पद्यानुवाद ग्रन्थ सबैलाई पढ्न सहज होस् भन्ने हेतुले गरिएको यो कार्य प्रशंसनीय छ । म यस संस्थालाई हार्दिक धन्यवाद दिन्छु । शुभं भूयात् । मुकुन्द शर्मा चालिसे कैलासकुञ्ज बूढानीलकण्ठ ४
View Document