दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट
विषयः सहयोगका लागि हार्दिक अपील ।
धुवाँउने ठाँटी पुनर्निर्माण उपभोक्ता समिति
सुन्दरबजार नगरपालिका–३, स्वाँरा, दुराडाँडा, लमजुङ
🏛️ ठाँटीको पुनर्निर्माणमा सहयोगका लागि हार्दिक अनुरोध
आदरणीय महानुभावज्यूहरूमा सादर नमस्कार।
धुवाँउने ठाँटी शताब्दीयौँ पुरानो ऐतिहासिक सम्पदा हो। यो ठाँटी दुराडाँडाको विभिन्न ऐतिहासिक कालखण्डहरूको गौरवपूर्ण यात्राको साक्षीका रूपमा अवस्थित छ। यस सम्पदाको संरक्षण हुनसके मात्र हाम्रा पुर्खाहरूको इतिहास, योगदान र पहिचान जीवन्त रहिरहनेछ। यही उद्देश्यसहित स्थानीय उपभोक्ताहरूको सक्रियतामा यसको पुनर्निर्माण कार्य अगाडि बढाइएको छ।
यस क्षेत्रलाई आकर्षक तथा ऐतिहासिक दर्शनीय गन्तव्यस्थलका रूपमा विकास गर्ने उद्देश्यले फेस कटिङ ढुङ्गाको गारो तथा कलात्मक आँखीझ्यालसहितको ठाँटी निर्माण गर्ने, साथै यस वरपर रहेका नागको थान, धुवाँ आउने प्वाल, चौतारालगायतका सम्पदाहरूको मर्मत–सम्भार गरी समग्र क्षेत्रको सौन्दर्याकरण गर्ने लक्ष्य लिइएको छ।
ठाँटीको पुनर्निर्माण कार्य सञ्चालनका लागि श्री नरनाथ अधिकारीको अध्यक्षतामा १५ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ। समितिका पदाधिकारीहरूमा उपाध्यक्ष देविका अधिकारी, सचिव चन्द्रमणि अधिकारी, कोषाध्यक्ष देशबन्धु अधिकारी, सह–सचिव सरस्वती अधिकारी तथा सदस्यहरूमा इ. महेन्द्रराज अधिकारी, रुद्रनाथ अधिकारी, रविकान्त अधिकारी, विन्द्रराज अधिकारी, महेश अधिकारी, प्रविना नेपाली, वशिष्ठ घिमिरे, कमला पौडेल, हरिमाया अधिकारी र विकास ढकाल रहनुभएको छ। साथै, विप्लवप्रसाद अधिकारीको संयोजकत्वमा सनत घिमिरे र सीता मजाकोटी सदस्य रहेको अनुगमन समिति समेत क्रियाशील रहेको छ।
💰 आर्थिक विवरण
आर्थिक वर्ष ०८१/८२ मा पुरातत्व विभागबाट रु. ४,३५,००० (चार लाख पैतीस हजार) बजेट प्राप्त भएको थियो। उक्त रकम, समितिका पदाधिकारीहरूबाट सङ्कलित सहयोग तथा उपभोक्ताहरूको श्रमदानसमेत गरी करिब रु. ६,५७,००० (छ लाख सन्ताउन्न हजार) को लागतमा ठाँटीको जग निर्माण, पेटी निर्माण तथा करिब ४ फिट उचाइसम्म गारो लगाउने कार्य सम्पन्न भइसकेको छ। यसका अतिरिक्त टेवा पर्खाल निर्माण, जग्गा तथा सडक सुधार लगायतका कार्यहरू नगरपालिका तथा वडा कार्यालयको बजेटबाट सम्पन्न गरिएका छन्।
चालु आर्थिक वर्षमा एकीकृत सेवा कार्यालय, लमजुङबाट रु. ५,००,००० बजेट विनियोजन भई पुनर्निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ।
ठाँटीको पूर्ण पुनर्निर्माण, अन्य सम्पदाको संरक्षण तथा समग्र सौन्दर्याकरणका लागि करिब रु. ३०,५४,००० खर्च हुने अनुमान गरिएको छ। यसमध्ये करिब रु. ४,५५,००० सरकारी स्रोतबाट प्राप्त हुने अपेक्षा गरिएको हुँदा करिब रु. २६,००,००० रकम अभाव देखिएको छ। हालसम्म विभिन्न दाताहरूबाट करिब रु. १५,००,००० बराबरको सहयोग तथा प्रतिबद्धता प्राप्त भइसकेको छ।
सहयोग संकलन कार्यलाई व्यवस्थित गर्न चितवन र पोखराका लागि क्रमशः यादव घिमिरे र विपिन अधिकारी, अमेरिकाका लागि विकल अधिकारी, क्यानडाका लागि रविकिरण अधिकारी तथा युरोपका लागि प्रकाश अधिकारीलाई संयोजनको जिम्मेवारी प्रदान गरिएको छ। दाताहरूसँग समन्वयका लागि इ. महेन्द्रराज अधिकारी (९८५११६६२२०), रुद्रनाथ अधिकारी (९८५११६३६३५) र रविकान्त अधिकारी (९८६१८१७६१६) लाई सम्पर्क व्यक्ति तोकिएको छ।
🙏 सहयोगका लागि अनुरोध
यस ऐतिहासिक तथा पवित्र पुनर्निर्माण अभियानमा यहाँहरूको अमूल्य सहयोगले मात्र हाम्रो साझा सम्पदाको संरक्षण सम्भव हुने भएकाले, सबै आदरणीय महानुभावहरूमा खुला हृदयले सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
प्राप्त हुने सम्पूर्ण सहयोगको पारदर्शी र उत्तरदायी ढङ्गले सदुपयोग गरिनेछ। आम्दानी तथा खर्चको सम्पूर्ण विवरण सार्वजनिक गरिने प्रतिबद्धता व्यक्त गर्दछौँ। साथै, दाताहरूको अभिलेख व्यवस्थित रूपमा सुरक्षित राखिनेछ। रु. १०,००० वा सोभन्दा बढी सहयोग गर्नुहुने दाताहरूको नाम तामा वा पित्तलको पातामा उत्कीर्ण गरिने सविनय अनुरोध गर्दछौँ।
🏦 बैंक विवरण
बैंकको नाम: Global IME Bank Ltd., Sundarbazar
खाता नं.: 11601010040071
खातावालाको नाम: DHUWAUNE THATI PUNARNIRMAN UPABHOKTA SAMITI
विद्युतीय माध्यमबाट सहयोग गर्नुहुने दाताहरूले रकम जम्मा गरेको स्क्रीनसट कोषाध्यक्षलाई ह्वाट्सएपमार्फत पठाइदिनुहुन अनुरोध गर्दछौँ। नगद सहयोग गर्न चाहनुहुने दाताहरूले समितिका पदाधिकारी वा सम्पर्क व्यक्तिहरूसँग सम्पर्क राख्न सक्नुहुनेछ।
(देशबन्धु अधिकारी) कोषाध्यक्ष
(चन्द्रमणि अधिकारी) सचिव
(नरनाथ अधिकारी)अध्यक्ष
संवत् २०८२ चैत्र १३ गते (रामनवमी)
View Document