दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट
श्रीकान्त अधिकारी (जीवनी/व्यक्तित्व र कवित्व),२०७६
श्रीकान्त अधिकारी मुलुकको शैक्षिक, सामाजिक एवं राजनीतिक क्षेत्रका सुपरिचित व्यक्तित्व हुनुहुन्थ्यो । वैयक्तिक जीवन र शैक्षिक, सामाजिक एवं राजनीतिक क्षेत्रमा उहाँको संलग्नता, योगदान र समपर्पण प्रशंसनीय छ । उहाँको आध्यात्मिक तथा काव्यिक चेतनालाई समेटेर लेखिएको यो कृति प्रतिष्ठानको प्रथम प्रकाशन हो। डा. नारायणप्रसाद अधिकारीको लेखन एवं सम्पादनमा प्रकाशित यो पुस्तकले स्वर्गीय श्रीकान्त अधिकारीको समग्र व्यक्तित्वबारे बृहत् जानकारी समेटेको छ।
श्रीकान्त अधिकारीको वंश परम्परा, उहाँको जन्म र बाल्यजीवन, शिक्षा दीक्षा, सामाजिक क्रान्तिको झिल्को मानिने दुराडाँडाको हलोक्रान्तिमा संलग्नता, शैक्षिक क्रान्तिको अगुवाइ, राजनीतिक नेताको रुपमा उदय र नेपालको पहिलो जननिर्वाचित संसदमा प्रतिनिधित्व र निर्वाह गरेको भूमिका, श्रीकान्तको साहित्यिक र मूलतः काव्यिक व्यक्तित्व लगायतका विषय समेटिएको यो ग्रन्थ कुल १८० पृष्ठको छ। विभिन्न ४३ वटा विषय शीर्षकमा श्रीकान्तको जीवनी र व्यक्तित्वबारे विशुद चर्चा गरिएको छ। परिशिष्ट खण्डमा श्रीकान्त अधिकारीका फूटकर कविता र उहाँद्वारा रचित बुद्धिविनोद प्रश्नोत्तरी समाविष्ट छ। पछिल्लो पृष्ठमा उहाँका सुन्दर हस्तलिपिमा २०१२ सालमै उहाँले अनुभूत गरेको नेपालको राजनैतिक चित्रण र एक सल्लाह छ।
श्रीकान्त अधिकारीको जीवनी र व्यक्तित्वबारे जिज्ञासुहरूलाई बृहत् जानकारी दिन सकियोस् र उहाँको व्यक्तित्वका विविध पाटाबारे थप खोज, अनुसन्धान गर्न चाहनेका लागि गतिलो र भरपर्दो स्रोत सामग्री बन्न सकोस् भन्ने उद्देश्यले प्रतिष्ठानद्वारा यो ग्रन्थको प्रकाशन गरिएको हो।